साँझको समयमा पाटन  कृष्ण मन्दिर वरपर हिँडडुल गर्न आउने, हावाखान आउने मान्छेहरुको भिडनै लाग्छ । मलाई पनि त्यो ठाउँ निकै मन पर्छ । एकदिनको कुरा हो । म यसै आकाशमा ताराहरु हेरेर टोलाइ रहेको थिएँ । मन्दिरको अर्को छेउमा केहि थान युवकहरु गिटारको धुनमा प्रेमिल गीतहरु गुन्जाई रहेका थिए । उनीहरुले सेवन गरेको चुरोटको धुँवा हावाले कतिकतिबेला म भएतिरै उडाएर ल्याउँथ्यो । मलाई खै किन किन चुरोटको धुँवाको गन्ध पटक्कै मन पर्दैन । तैपनि म गिटारको धुन र सुरीलो गीत सन्नकै लागि सहेर बसिरहेको थिएँ । अघि देखि मन्दिरको पल्लो पट्टिको कर्नरमा कोहि  बसिरहेको थियो ।

एकै छिउमा त्यो मान्छे मेरै छेउमा आएर टुसुक्क बस्छ । सायद हावाले चुरोटको धुँवा उ भएतिरै लगेको थियो क्यारे उस्लाई पनि चुरोटको गन्ध मन नपर्दो हो । हामी दुवै जना संगितको धुनमा लठ्ठ थियौँ । यत्तिकैमा एउटा सानो फुच्ची आएर मसँग पैसा माग्न थाली । अतिनै कर गरेपछि उस्लाई मैले आफ्नो खल्तिबाट रु. २० को नोट निकालेर दिएँ । मैले पैसा दिएपछि त्यो फुच्ची मेरै छउमा भर्खरै आएर टुसुक्क बसेकी केटीसँग पैसा माग्न थाली । उस्ले फुच्चीलाई नदेखेझैँ गरी वेवास्ता गर्न खोज्दै थिई । तर फुच्चीले माग्न नछाडेको देखेर मैले भनेँ उ र म सँगै हो । मैले पैसा दिएपछि भयो त । जाउ । त्यसपछि त्यो फुच्ची तिनै गिटार बजाउने केटाहरु तर्फ लागि ।

मलाई बोल्न बाहना मिलिहाल्यो । मैले सोधेँ, तपाईँ सधैँ आउनु हुन्छ यहाँ ? उस्ले जवाफ दिई आज धेरै दिनपछि आएकी । मैले थपेँ तेहित यो भन्दा पहिले मैले तपाईँलाई कहिल्यै देखेको थिइन । उस्ले थपी तेसो त तपाईँ सधैँजसो यता आइरहनु हुन्छ है । मैले भनेँ कहिले काहिँ आउँछु ।  यो ठाउँ मलाई रमाईलो लाग्छ । यसैबीच हामीबीच सामान्य परिचय भयो । उस्को घर बिराटनगर पढाई व्याचलर तेस्रो वर्ष । एकै छिनमा गीत गाउने युवकहरु पनि कता लागे कुन्नि तहाँ हामी दुई जना मात्र भयौँ ।

मैले उस्लाई कफी पिउने प्रस्ताव राखेँ । उस्ले आफूले भर्खरै पिएको । तपाईँले पिउने हो भने सँगै क्याफेसम्म गईदिने भनी । मैले उस्लाई क्याफेमा सँगै जान  आग्रह गरेँ । मन्दिरको सिँढिबाट झर्ने क्रममा उस्ले हात दिई मैले समायर उस्लाई तल ओरालेँ । उस्का हातहरुमा के जादु थियो कुन्नि मलाई उस्को हात समाउने वित्तिकै मेरो शरीरमा एउटा छुट्टै तरङ्ग फैलियो । मलाई केहि सेकेण्डकै लागि उस्को हात समाउँदा पनि  कस्तो आनन्द महसुस भयो । उ एकै छिनमा आत्मिए महसुस भयो । यस्तो लागि रहेथ्यो उस्को र मेरो भेट वर्षौँपूर्व भएको थियो ।कताकता मेरो पहिला पनि उसँग भेट भएको जस्तो । मैले यसै गरी उस्को हात समाई मन्दिरको सिँढीबाट उस्लाई ‌ओरालेजस्तो अनुभव भैरहेको थियो ।

हामी अलिक बाहिर निस्केर एउटा क्याफेमा छिर्यौँ । टेवलको पारीपट्टी उ टुस्स बसी ।  वाहिर अँध्यारोमा मैले उस्को रुपलाई राम्रोसँग नियाल्न सकेको थिइन । उस्को सेतो छाला, ठूलाठूला आँखाहरु, सरिपिरालको टुप्पोजस्ता तिखा परेलाहरु, उस्ले तलमाथी गराउँदा मुटुनै घोँच्थ्यो । तरबारको धारजस्तै धारिलो गाजलु धार । कालो कपालमा क्याफेको पहेँलो बत्तीले गर्दा होला फिक्का रातो रंगको चमक । पहेँलो कुर्ता, निलो जिन्स, गुलावी रंगका जुत्ताहरु । मसिना हातहरु, सर्लक्कका खुट्टाहरु, मैले उस्लाई तलदेखि माथिसम्म हेर्न भ्याएँ । उ साँच्चीकै राम्री देखिइरहेकी थिई । अझैपनि मैले उस्को पूरा अनुहार हेर्न पाएको थिइन । निलो रङ्गको मास्कले उस्को आधा चेहरा ढाकिएको थियो । मन उस्को पूरा अनुहार हेर्न आतुर थियो । उस्ले नखाने भन्दापनि मैले जबरजस्ती दुई कप कफी अर्डर गरेँ । कफी पिउँदा त उस्ले पक्कै मास्क उतार्ने छे ।

हाम्रो अर्डर आयो । जब उस्ले कफी पिउन मास्क उतारी । उस्को पूरा अनुहार देख्ने धोको मेरो पूरा भयो । सुन्तलाको केसरा जस्ता रसिला ओँठ । मिलेको चिउँडो । तल्लो ओठको देब्रे छेउमा सानो कोठी । क्याफेमा रहँदा हामीले देशको राजनीति देखि प्रेमसम्मका सवै कुराहरु गर्न भ्यायौँ । भर्खरै त हो हाम्रो भेट भएको । म कसैसँग नबोल्ने मान्छे । आज के भयो उस्लाई देखेपछि नबोली  रहनै सकिन । साँझको समय पाटनको वातावरण नै प्रेमिल । उ पनि यसरी खुलेर बोलि । तीन घण्टा क्याफेमा बिताउँदा हामीले दुईदुई कप कफी पएका थियौँ । एकमनले भनीरहेथ्यो समय टक्क अडियोस ।

लगनखेल चोकसम्म हामीसँगै आयौँ, त्यसपछि उ देव्रेपट्टी लागि । म दाहिनेपट्टि । उस्ले हात हल्लाउँदै छुटीने संकेत गरी । उ पर पुग्दासम्म पनि मैले फर्कीफर्की हेरिरहेँ । उस्ले भने  पछाडी एक पटक पनि फर्किने । मन हावामा उडिरहेको थियो । एक्लो मुटुले अर्को एउटा अनौठो मुटुलाई भेटेको थियो । म आफैमा दङ्ग थिएँ ।

उस्को नाम सुरुमै सोधेको थिएँ मैले । र बिर्सिपनि हालेछु । अब हामीहरु यति नजिक भएका थियौँ कि फेरी उस्को नाम सोध्न म आफैलाई लाज लागेर आयो । अँ उस्को थर पौडेल थियो । घर आएर फेसबुकको सर्च बारमा लेख्न मलाई उस्को थर बाहेक अरु केहि याद थिएन । लाग्छ यो एउटा मिठो सपना थियो । भर्खरै मैले कोहि स्वर्गकी परीलाई भेटेर आएको हुँ ।

 

Post a Comment

Previous Post Next Post