अचम्म लाग्छ राम्री छेस् भनेर भन्यो फुर्कायो रे, नराम्री छेस् भन्यो तैँ छस् खुब राम्रो बाँदर मुखे रे, अब नबोली बस्यो ठुस्के, मेरो केयर गरेन रे ! हुनत यसैपनि उस्को र मेरो झर्को कहिल्यै मिल्या हैन ! सोँच्छु भगवानले बनाउँदै चुम्बकको एउटै धुर्व बनाएछन हामी दुईमा कहिल्यै आकर्षण हुन सक्या हैन, बरु मलाई फलामै बनाएको भए हुन्थ्यो नि चुम्बकमै घर्षण गराई गराई चुम्बकै बनाउँथेँ म आफैँलाई ! र झन कहिल्यै नछुट्नेगरि चप्किएर बस्थेँ ! अँ उस्को नाम प्रतीक्षा थियो ! सरले सधैँ भन्थे समय आउँछ, प्रतीक्षाको फल मिठो हुन्छ भनेर मैलेपनि मेरै बेन्च पछाडि बसेकि उसैलाई हेरेर मुख मिथ्याउँथेँ ! थाहा छैन अमीलोको स्वाद कस्तो हुन्छ तितो, पिरो, टर्रो, गुलीयो, खै नामै अमीलो छ सायद अमीलै हुँदो हो चाखेको छैन र चाख्ने मन बिछट्टै छ ! पढाईमा ध्यान खासै नभएपनि कक्षामा अँगाडिकै बेन्चमा बस्थेँ सरलेपनि मैलाई प्रश्न सोधेर हैरान पार्थे आफुलाई आउने कै हैन ! सधैँ जसो कुटाई खानुपर्थ्यो साथिले भन्थ्यो जाउँ यार पछाडि ! म मनमनै सोँच्थेँ उस्लाई फर्किफर्कि हेर्न पाउँछु भने जाँबो सरको कुटाई ! साथीले अत्ती गरेपछि हामी पछाडि बस्न थाल्यौँ, उस्कै बेन्च पछाडि ! केहि नयाँ कपडा किनिकि बाहना पारिपारि पहिल्यै मैलाई देखाउन आउँथी ! मपनि फुर्काई दिन्थेँ, अनि त उड्दै गाउँ चाहर्थी उ ! एकदिन स्कुलबाट घर गयपछि बेलुका फोन गरेर सोधी "आज मैले कस्तो कलरको झुम्का लगाकि थिएँ ?" भनेर ! लौ मार्यो मैले ख्यालै गरेनछु ! अँ सरले अँगाडि पढाउँदै गर्दा साथीले उस्ले लगाएको रातो कलरको ब्रा देखाउँदै मलाई जिस्काको थियो ! मुख बाट रातो निस्किहाल्यो उस्लाई विश्वाँस दिलाउन थपेँ रातोरातो टल्कने ! उ रिसाईहाली तेस्तो त सुस्मीताले लगाकि थिई होलीनी, तिम्लाई उसैको छ चिन्ता उसैसँग जाऊ भन्दै फोन काटि ! कस्सम, सुस्मीताको दाईले सानोमा मैले उस्को पेन्सील चोर्दा ढाड मस्कने गरि कुटेदेखी उस्लाई सिधा आँखाले हेर्न सम्मपनि डर लाग्थीयो मलाई ! हुनत उ कक्षाकै राम्री मध्येकि थिई, साथिहरु सबै उसैको पछि दगुर्थे ! अर्कोदिन जनतन फकायर बेलुका चौपारिमा भेट्न बोलाएँ आउँछु त भनि कुरेँकुरेँ रातै पर्यो फोन गर्दा "तिमी केटा मान्छेलाई जस्तो हुन्छ क्याव हाम्लाई घरमा मामा आउनु भाछ कसरि आउनु" भन्दै उल्टै थर्काई ! म पनि सरले भनेकै कुरा सम्झियँ "समय आउँछ प्रतीक्षाको फल मिठो हुन्छ", अनी आशा जिबितै राखेर घर फर्किएँ !

सानोमा खेल्दा मलाई चोट लाग्दा उ निधारमा फुफु गर्दै चुम्थी, सम्झन्छु भावीले लेखेको नाम मेटिन दिएकि छैन उस्ले, आखिर मेरै हुन्छे त केको पिर ! सानोमा बरु उ खुब मिल्थी मसँग ! उ बेला त मपनि सानै थिएँ, हुन त फल पाक्नपनि त समय नै लाग्दो हो ! मपनि आमासँगै मन्दिर जाँदा उ मेरै होउस भन्दै भगवानसँग सधैँ माग्थिएँ ! मलाई अझै याद छ म सानोमा प्रतीक्षाकोमा खेल्न गएर स्कुलको होमवर्कनै गर्दैनथेँ अनि मलाई खेल्दै गर्दा लतारेर घर ल्याउनु हुन्थ्यो ! अनि म खुब रुन्थेँ ! आमाले मलाई फकाउँदै होमवर्क गराउँदा मैले आमासँग प्रतीक्षालाई हाम्रो घरमा लेराम्न भन्दा आमाले मेरो टाउको सुम्सुमाउँदै तँ ठुलो मान्छे भएपछि ल्याउँला भन्नुभा थियो ! अँस्ती बाबाले भन्नुभाको SLC पास गरेपछि त मपनि ठुलो मान्छे हुन्छु रे ! साँझ कौसीमा बसेर आकासका तारा खसेको हेर्दै उसैलाई सम्झन्थेँ, लाग्थ्यो एकदिन उसैको कारणले आकास रित्तिनेछ, अनि दोषी मै हुनेछु !

हाम्रो कक्षामा नयाँ बिद्यार्थी आएको थियो सानोमा यहि स्कुल पढेको रे अनि सहर बोर्डिङ पढ्न गएको रे ! अहिले बाबाको यहि स्कुलमा सरुवा भएसी नयाँ कक्षादेखी यहिँ पढ्न आएको रे ! अंग्रेजी उस्लाई खुब आउने सबै सरले उसैको प्रसंशा गर्ने ! मलाई भने उस्लाई देख्दा डाहड मात्र लाग्थियो, के गर्नु आफु पढ्नमा पूरै जीरो परियो ! कक्षाका सबै बिद्यार्थीपनि उसैसँग बस्न रुचाउँथे, गर्दागर्दै बिस्तारै प्रतिक्षापनि अंग्रेजी सिक्नभनी उसैसँग बस्न थाली !  उस्को सहरबाट ल्याएको नयाँ साईकलपनि थियो ! प्रतीक्षा साँझपख उसैकोमा साईकल सिक्न भन्दै जान्थी ! यो देखेर मलाई पनि निक्कै  रिस उठ्यो, एकदिन त दुबैलाई गाली गरेँ र धम्काएँपनि ! बिस्तारै मसँग त बोल्नपनि छोडि ! भित्रभित्रै रिसपनि उठ्यो के गर्नु उ सरको छोरो पर्यो सबैको प्यारो ! सम्झेँ सानोमा बिबेकका बाले उस्लाई लाहुर बाट आउँदा नयाँ "स्पाइडर म्यान" वाला झोला अनी मस्तै मिठाईँ ल्याइदिँदा उ मसँग नगएर बिबेक सँगै स्कुल जान्थी बस्नपनि उसैसँग बसी ! त्यो बेला मसँग गाउँमै दमै दाईले सिलाइदिएको पुरानो झोला थियो अनि म स्कुल जान नमानेर मलाई पनि उस्को भन्दा राम्रो "वेन टेन" वाला नयाँ झोला किन्देसी फेरि उ मैसँग स्कुल जान थालेकि थिई ! आखिर स्वार्थी त उ सानैदेखी थिई मनमनै सोँचेँ ! मैलेपनि घरमा गएर नयाँ साइकल किन्दिन भनेँ आमासँग ! सरुमा त हप्काउनु भो अनि पछि मेरो कपाल मसार्दै अब तँ ठुलो भईस जाँबो साईकल हैन मस्तै पैसा कमाएर भटभटे किन्नुपर्छ भन्नुभयो ! मैले सानोमा आमाले भनेको कुरा सम्झेँ ! आमा प्रतीक्षालाई अब हाम्रोमा लेराम्न म ठुलो भएँ नि भन्न मन थियो फेरि बाबाले SLC पास गर्नुपर्छ भनेको सम्झेँ ! अनी केहि बोलीन ! केहि हप्तापछि गाउँमा हल्ला चल्यो प्रतीक्षा त मास्टरको छोरोसँग सहर भागि अरे ! त्यो केटाको नाम समय थियो, उ अरु कोहि नभएर मलाई बारबार समय आउँछ प्रतीक्षाको फल मिठो हुन्छ भन्नेवाला सरको छोरो रैछ ! सोँचे सरले बारबार भन्नुभयो तर म बुध्दुले कहिल्यै बुझिन र समय आयो अनि प्रतीक्षालाई भगायो पनि ! प्रतीक्षा समयको थियो र म प्रतीक्षाको एक पात्र भएँ ! बाबा आमाले भनेजस्तै म ठुलो मान्छे त भएँ तर प्रतीक्षा मेरी भइने ! तर समयसँग अझै एउटै गुनासो रह्यो मेरो,  साँच्चै प्रतीक्षाको फल कस्तो हुँदो हो !

Post a Comment

Previous Post Next Post