त्यो रात सम्झँदा अझैपनि बिमलाको मानशपटल डरले कांप्न थाल्छ ! उस्को  श्वाशप्रश्वार छिटोछिटो हुनथाल्छ ! रत्तनलिहरुमा रगतको दबाव बढ्न थाल्छ ! आक्रोश, संवेदना, लाज, अनि डर बोकेर एकहुल रगत फोक्सोबाट पल्मोनरी भेनहुँदै मुटुमा स्वात्त खस्छ ! अनि आँखा अँगाडि पढ्दै गरेको किताबमा दुई थोपा आँशु टप्लक्क टप्लक्क गर्दै चुहिन्छ !

त्यो दिन २०७४ साल भदौ ७ गते हरितालिका तिजको अघिल्लो दिन थियो ! बिमला सधैँ जसो कोचिङ कक्षा सकेर स्कुल देखि केहि अगाडिको चोकमा बस कुरिरहेकी थिई ! रातले बिस्तारै आफ्नो भेष बदल्दै थियो ! सडक सधैँजसो भन्दा अलि सुनसान देखिन्थ्यो ! लोडसेडिङको समय हुनुपर्छ सडक बत्तिहरु निभेका थिए ! फिरफिर पानी परिरहेको थियो ! १५ मिनेट कुर्दापनि बस आएन ! मनमा बस छिट्टै आउने आशा बोकेर उस्का आँखाहरु बाटोमा पसारिएका थिए ! पैदल हिँडेर जान उस्को घर अलि टाढै थियो फेरि रातको समयमा एक्लै केटी मान्छे !

अगाडिबाट तिब्र गतिमा आएर एउटा बाईक उस्को अगाडि टक्क उभियो, बिमलाको आँखामा बाईकको लाईट परेकोले ऊ त्यो बाईकवाला को हो भनेर छुट्याउन सकिन ! "बिमला बस कुरिरहेको रात धेरै छिप्पिसक्यो, आज बस आउँदैन होला अगाडि सडकमा हिलो भएकोले बस उतै फसेजस्तो छ ! आऊ बस म पुर्याई दिन्छु !" ए, सर पो! म त कस्तो डराएकी ! "नाईँ सर एकै छिनमा आईपो हाल्छकि आफै जान्छुनि है !" - बिमला ! "रात छिप्पिँदै छ फेरि पानी पनि परिरहेको छ आऊ डराउनु पर्दैन !" यति भनेपछि बिमलाले आफ्नो गुरुको कुरा काट्न सकिन बाईकको भिजेको सिटको पानी हातले हल्का पुछेजस्तो गरि टुस्स बसी !

त्यो बाईकवाला बिमलाकै सामाजिक बिषयको शिक्षक हुनुहुन्थ्यो ! बेलाबेलामा बिमलाको घरमा आउनुपनि हुन्थ्यो ! पछिल्लो समय बिमलाको घरमा आएको बेला बिमलाको वुवालाई जाँड रक्सी नखानु भन्दै यसले मानव स्वास्थ्यमा पार्ने असर बारे सम्झाईबुझाई गर्नुभएको थियो ! साथै आमासँग बिमलाको पढाई निक्कै राम्रो भएको पछि छोरीलाई नर्सिङ पढाउनु पर्छहै भन्दै सल्लाह दिनु भएको थियो ! त्यसदिन देखि बिमलालेपनि कतै सेतो कोटमा घाँटिमा स्टेथोस्कोप बोकेको फोटो देखिभने त्यसमा आफुलाई पाउँथी !

पानी अलि बढि परेको भन्दै सरले सिधा सडकदेखि बाईकको अगाडिको पाङ्ग्रो केहि छेउतिर तेस्राएर एउटा साँघुरो गल्लितर्फ लाग्नुभयो ! केहि अगाडि पुर्याएपछि भित्तोमा पहेँलो रङ्ग र पेटिमा रातो रङ्ग पोतिएको एउटा घर देखाउँदै सरले भन्नुभयो म बस्ने घर यहि हो ! एकैछिन यहिँ बस पानी बिदो हुन्छ र जाउँला बिमला भन्नुभयो ! अब यहाँसम्म आईसकेपछि मैले हुन्न भन्ने जवाफपनि त फर्काउन सक्दिनथेँ, केहि नबोली सरको पछिपछि लागेँ !
कोठामा पर्दा डमक्क लगाईएर कोठा अँध्यारो पारिएको थियो ! बस्नको लागि कतै कुर्सि नदेखेपछि म उभिई रहेँ ! सरले बस न बिमला भन्दै कपडाहरु लथालिङ्ग फालिएको खाटतिर ईशारा गर्नुभयो ! मेरो अँगाडि रहेको टि.भि. अन गरेर बस्दैगर म चिया बनाउँछु भन्दै सर किचन तर्फ लाग्नुभयो ! "सर अनि मेडमलाई त देख्दिन त"- मैले सोधेँ ! "तिज आएकोले माईती गएकी छ !" - सरले भन्नुभयो !

एकै छिनमा चिया मेरो हातमा दिँदै मेरै छेउमा आएर टुस्स बस्नुभयो ! चियाको एक सुरुप्पलिँदै सरले मेरो छाती तर्फ नजर डुलाउनु भयो ! मलाई कस्तो अप्थ्यारो महसुश भयो ! म पानीमा निथ्रुक्क भिजेकी थिएँ ! मेरो कपालबाट अझैपनि पानी टप्पटप्प बगेर पानीका थोपा मेरो जिऊमा सल्बलाउँदै थिए ! सर मेरो नजिकै सरेर टि.भि. को रिमोट उठाएर च्यानल बद्लेर आफ्नो देब्रे हात मेरो साप्रा माथिनैै राख्नुभयो ! सरको यस्तो क्रियाकलापले मेरो मुटुको धड्कन बढेर आयो ! मैले आफूलाई असुरक्षित महशुस गरेँ ! "पानी रोकिएजस्तो छ जाउँ सर !"- मैले भनेँ ! सरले केहि नसुनेझैँ गरेर आफ्नो देब्रेहात माथिमाथि सार्दै हुनुहुन्थ्यो ! मलाई सरको नियत ठीक लागेन म उठ्न खोजेँ सरले आफ्नो दाईने हातले मेरो हात च्याप्प समाउनु भयो मेरो हातको चियाको गिलाँश भुईँमा टिङ्ग गर्दै खस्यो !

मलाई खाटमा पछारियो ! मैले उस्मा गुरुको मुकाव लगाएर उभिएको राक्षसको रुप देखेँ ! म आफूलाई त्यो राक्षसबाट बचाउन चिच्याएँ, कराएँ शरीरका चल्नसक्ने सबै अङ्ग बजारेँ ! म उम्कन सकिन मेरो शक्ति अँगाडि उस्को राक्षसीपन हावी भयो ! म लुटिएँ त्यो रात ! मलाई पटक-पटक लुटियो त्यो रात ! म लुटिँदै गर्दा चिच्याउँदै गर्दा म सँगै आकाशपनि रुँदै थियो ! मेरो आवाजमा आकाशपनि गड्गडाउँदै चिच्याउँदै थियो ! वुवालाई सम्झिएँ मेरो आवाज उहाँसम्म पुगेन ! भगवानलाई सम्झिएँ तर अहँ मेरो चित्कार सुन्न सकेन दैवले ! त्यो बेला म यति निरिह भएँ कोठाका हरेक निर्जिव बस्तुहरुसँग सहायता मागेँ, टि.भि. मा देखिई रहेका धमीला मान्छेसँग विनय गरेँ ! तर अहँ म लुटिएँ म उम्किन सकिन !

पहिलो पटक मलाई टि.भि. मा बज्दै गरेको ये मौसमकी वारिस ये वारिसका पानी भन्ने गीत मनपरेन ! पहिलो पटक मलाई पानीका थोपाले टिनको छानो हिर्काउँदैगर्दा आएको आवाज मन परेन ! पहिलो पटक मलाई आकाश गर्जीनुपूर्व आउने त्यो प्रकाश मन परेन ! पहिलो पटक मलाई आफ्नो छाती मन परेन ! पहिलो पटक मलाई आफ्नो पिसाब फेर्ने अङ्ग मन परेन ! पहिलो पटक मलाई तीन अक्षरको पुरुष मन परेन ! पहिलो पटक मलाई आफू नारी भएर जन्मेकोमा आफू मन परेन ! भगवानले आफूमा यौनाङ्ग बनाएकै कारणले आफू बलात्कृत भएकोमा पहिलो पटक मलाई सृष्टिकर्ता भगवान मन परेन !

  एउटी रगताम्य अबोध बालिकाको चित्कारमा रमाउने पुरुष कस्तो ? एउटालाई असय पीडाहुँदा उस्लाई आनन्द मिल्ने यो सृष्टि कस्तो ? भर्खर टुँसाउन लागेको यौवनमा गिध्दे आँखा डुलाउने यो समाजको नजर कस्तो ?  यौवनको उन्मातमा गुरु र चेली बीचको धर्म बिर्सने यो संस्कार कस्तो ? आफै बलात्कार सामाजिक बिकृती हो, अपराध हो, भन्दै कक्षामा पढाएर आफैले बिर्सने यो शिक्षा कस्तो ?
त्यो रात मलाई पटक-पटक लुटियो ! अर्को बिहान कसैसँग यो कुरा भनेमा ज्यानमार्ने, घरमा आगो लगाईदिईने भन्दै मलाई धम्काईयो ! म भित्रको भगवान त रातीनै मरेको थियो तरपनि राक्षस बाटै उम्कनको निम्ती भएपनि मैले कसैलाई नभन्ने कबुल गरेँ !

बिहान ९ बजेपख आफ्नो देब्रे खुट्टो लतार्दै जनतन घर पुगेँ ! घरमा पुग्दा घरमा मेरो खोजी भएको रहेछ ! म गएराती घरमा नआएकोमा वुवा रिसाउनु भयो ! म छुट्टि हुँदा अबेर भएकोले शृष्टिकोमा बसेँ भनेर टारेँ ! शृष्टि मेरो माईला वुवाकी छोरी थिई, ऊ पनि मसँगै पढ्थी ! उस्को घर मेरो स्कुलको छेउमै थियो पहिलेपनि अबेर हुँदा म कहिलेकाहिँ उतै बस्ने गरेकी थिएँ ! आमा मामाघर जानको लागि सारि लगाएर भित्रबाट बाहिर निस्किँदै हुनुहुन्थ्यो ! म आमालाई देख्ने बित्तिकै झम्टेर रोएँ ! आमाले मेरो निदार सुम्सुमाउँदै के भयो छोरी भन्दै हुनुहुन्थ्यो म मुखखोल्न सकिन, उस्को ज्यानमार्ने धम्कि सम्झिएँ ! निदार छाम्दै आमाले ज्वरो आए जस्तो छ भन्नुभयो ! तातोपानी तताएर औसधी खाऊ, अँ भित्र कसौँडिमा हिँजोको खिर छ ततायर खानु है छोरी भन्दै भाईलाई लिएर आमा मामाघर लाग्नु भयो !

म आफ्नै जन्मदिने बाबुआमासँगपनि दुखेरपनि दुख्यो भन्न सकिन ! नचाहेरपनि झुट बोल्नु पर्यो ! पीडालाई लुकाउनु पर्दा झन पिडा लाग्थ्यो ! त्यो दिनदेखि म कहिल्यै खुलेर हाँस्न सकिन ! मलाई बुझ्ने कोहि थिएन ! बाँच्नुकोपनि अर्थ थिएन ! मैले पहिलो पटक अनुभव गरेँ मर्नको लागिपनि हिम्मत चाहिँदो रैछ ! म मर्न सकिन ! घाँस काट्न गएको बेला कतिपटक खोलामा हाम फाल्न खोजेँ ! तर अहँ सकिन ! एक्छिन घाँस राख्दिन ढिलागर्दा  ब्बाँ..आँ...ब्बाँ....आँ..... गर्दै कराउने मालुगाईलाई सम्झिन्थेँ ! जन्मदिने आमाबाबुलाई सम्झिन्थेँ ! अनि आफ्नो सानो भाईलाई सम्झिन्थेँ ! उस्लाई सुम्सुमाउँदै भन्न मन लाग्थ्यो भाई तँ कसैलाई पनि बलात्कार नगरेस है, भनेर !

मेरो अस्मीतासँगसँगै मेरो सपनापनि खोसियो ! म कसैलाई बलात्कृत भएँ भनेर भन्दा समाजले मलाई नराम्रो सोँच्थ्यो ! समाजमा मेरो स्थान खोँटो पैसा सरह हुन्थ्यो ! फेरि म आफ्नै सरबाट बलात्कृत भएँ भन्दा पत्याउने को ? समाजले बलात्कार गर्नेलाई भन्दा बलात्कृत हुनेलाई घृणित सम्झिन्छ ! खोँट मेरै अस्मीतामा देख्छ ! त्यो सामाजिक शिक्षक मेरो अगाडि शिर उभो पारेर उभिन्थ्यो, म उस्को अघि शिर उभाउन सक्दिनँ ! कतै भिरपाखा बाट घाँस बोकेर आउँदै गर्दा देख्यो कि बाईक रोकेर मतिर हेर्दै आफ्नो कुकुर दाँत तल्लो ओठमा गाड्छ ! म उस्को अघि निरिह छु ! समाज उस्को पक्षमा छ ! समाज नारीको अस्मीताको भन्दा पुरुषको पुरुषत्वको गुणगान गाउन रुचाउँछ ! 

4 Comments

Post a Comment

Previous Post Next Post