आमा यो कारागारबाट
यदि म कसैलाई आफू भन्दा धेरै सम्झन्छु भने त्यो तिमी हौ । रातदिन तिम्रो यादले
घोँच्छ। तिमीले मलाई पढाउन गरेको संघर्ष सम्झिँदा खाना खानेबेला गास अड्कीन्छ आमा
। मेरो बाउ भनेपनि आमा भनेपनि तिमी नै थियौ । मुग्लान भनेर गएका बाउ फर्कीएर धन
कमाएर ल्याउलान भन्ने आशामा बस्यौ । फर्किँदा न धन ल्याए न आफूनै जिउँदो फर्किन
सके । बा पछि त तिमी अब कसको मुख हेरेर बसौली भनेको हाम्रो अनुहार हेरेर समाल्लियौ
आमा । आफूले खाली पेटमा पटुकी कसेर अर्काको मेलामा काम गर्यौ । तर हाम्रो पेट
कहिल्यै खाली रहन दिईनौ । तर मैले कहिल्यै तिमीलाई खुसी पार्न सकिन आमा । एकपछि
अर्को पीडा दिइरहेँ ।
आमा तिमीले देखाएको बाटो मैले बिराएँ । आज मेरो कुरा सुन्न कोहि तयार छैनन । सवैको सामु म खराव भएको छु । साथीहरुको लहलहैमा लागेर तिम्रो कुरा सुनिन । आज तिनै साथीभाईहरु पनि टाढा बनेका छन । सुन्ने कोहि नहुँदा टाढा भए पनि तिमी त सुन्छौ नि आमा । यो कारागारको अँध्यारो कोठाबाट टप्पटप्प आँशु चुहाउँदै कागज भिजाउँदै यो पत्र लेखेको छु आमा ।
आमा
मैले तिमीलाई ढाटेँ । झुठो बोलेँ । आज यो पत्र लेख्दै गर्दा पश्चाताप हुन्छ आमा । तिमीले मसँग दुःख बाहेक
बाँड्न मिल्ने सबै कुरा बाँड्यौ । तर आमा मैले तिमीसँग दुःख शिवाय अरु केहि बाँड्न
सकिन । दुःख सुख गरी तिमीले छोरोलाई काठमाडौँमा पढ्न पठायौ । सहर पसेपछि सहरको
रमझममा मैले तिम्रो संघर्ष र हाम्रो धरातल बिर्सेँ। सहर पसेपछि मैले तिम्रो गाउँको
संघर्ष बिर्सेँ । लैनो भैँसी बेचेर तिमीले मलाई पढ्न पठाएको सबै कुरा बिर्सेछु ।
ति सवै कुराले पिरोल्छ आमा । पश्चातापले घाँटी थिचिदिन्छ । भविष्य अन्धकारमै
ढल्फलाउन पुग्छ । आमा अब तिम्रो छोरा कहिल्यै इन्जिनियर बन्न सक्ने छैन । तिम्रा
घाउमा मलमपट्टी लगाउनु पर्नेमा झन नुनचुक छरेको छ ।
सहर
पसेपछि मेरो संगत राम्रो साथीहरुसँग हुन सकेन । जानिनजानि कुलतमा लागेका साथीहरुको
संगत गर्न पुगेछु । साथीहरु भन्थे यस्सो चाखेर हेर । विस्तारै विस्तारै म थाहै
नपाई कुलतमा फसेछु आमा । होस्टेलमा सँगै बस्ने साथीहरुको लहलहैमा म कति बेला बाटो
बिराएछु पत्तै पाइनछु । म तिहार मानेर गुल्मीबाट फर्केको अर्कोदिन मेरो साथी विक्रम हेटौँडाबाट काठमाडौँ आउँदै थियो । बेलुका करिव ४ बजेको थियो होला । उसले फोन
गरेर तिमीहरुलाई कोसेली ल्याइदिएको छु सातदोबाटोनिर लिन आउ भन्यो । होस्टेलमा सँगै
बस्ने म र मेरो साथी अजित सोहि अनुसार ४ बजेतिर ललितपुरस्थित सातदोबाटो पुग्यौँ ।
हामीहरु त्यहाँ पुगेर फोन गर्दा उसले गाडी बाटोमा आउँदै गरेको अझै एक घण्टाजति
लाग्ने बतायो । उ बेलुका करिव साढे पाँच बजेतिर मात्र आइपुग्यो । साथीहरु धेरै पछि
भेट भएका थियौँ । एकैछिन होटलमा चिया पिएर जाने निधो गर्यौँ । यत्तिकैमा वाहिर
पानी पर्यो । बसिरहँदा साथीहरु चियाबाट सुरु गरेका रक्सीपनि सेवन गरे । मैले
खान्नखान्न भन्दा विक्रमले साह्रै कर गरेपछि थोरै खाएँ ।
बेलुका आठ बजेतिर उ त्यहिँबाट कलंकी तर्फ लाग्यो हामिहरु बानेश्वरस्थित होस्टलतर्फ फर्कन लाग्यौँ । उसले ल्याइदिएको कोसेली स्कुटरको डिक्किमा राख्यौँ । साथीले स्कुटर तँ चला मैले अलि धेरै पिएको छु भन्यो । मैले हुन्छ तनि भनेर स्कुटर हाँकेँ । कोटेश्वर निर पुग्दा हामी चढेको स्कुटर दुर्घटना हुन पुग्यो । बाटोको छेउमा हामीहरु लड्यौँ । एकैछिनमा प्रहरी आएर हामीहरुलाई उपचारको लागि अस्पतालमा लगियो । त्यसदिन हामीलाई अस्पतालमै राखियो । अर्कोदिन विहानै एक्कासी प्रहरीहरु अस्पताल छिरेर हामीहरुलाई हत्कडि लगाए । मैले के कारणले पक्राउ गरिएको हो भनेर सोध्दा उनीहरुले प्रहरी चौकी पुगेपछि थाहा हुने बताए । मनमनै रक्सी सेवन गरेर स्कुटर चलाएको भएर होला भन्ने लख काटेँ । हामीहरुलाई प्रहरी भ्यानमा राखेर महानगरीय प्रहरी बृत्त सातदोबाटो ललितपुर लगियो । त्यहाँ पुगे पछि मात्र थाहा भयो । हामीहरु त लागू औषध कारोबारमा अभियुक्त वनाइएका रहेछौँ । थाहा पाउँदा छाँगाबाट खसेझैँ भएँ । हामीहरुले चलाएको दर्घटनाग्रस्त स्कुटरको डिक्किबाट लागू औषध बरामद भएको रैछ । मलाई विश्वासै लाग्न सकेन । तर प्रहरीमा हाम्रो कुरा सुन्दिने कोहि थिएन । प्रहरीले जसोजसो भन्छ उसै गर्नु पर्थ्यो हामीले ।
यसरी म पक्राउ परेको तीन महिना भएको छ । आमा आज
अदालतबाट कसूर ठहर भएको छ । म लागू औषध कारोबारकर्ता ठहरीएको छु । म लागू औषध
बेचबिखन गरेको हैन भनेर सुन्दिने कोहि छैन । आमा तिमीले म माथी गरेको लगानी डुव्यो
। अब तिम्रो छोरा कहिल्यै इन्जिनियर बन्न सक्ने छैन । म अन्धकारमा भासिएको छु । कारागारको
अन्धकारले मलाई चिथोर्छ । मन विथोल्छ । सवै कुरा गुमाए जस्तो लाग्छ । अब
वाँच्नुको कुनै आशय बाँकी नरहे समान लाग्छ
। पढ्न भनी म काठमाडौँ आउँदा मलाई बस चढाएपछि तिमीले एउटा हातले फरियाको सप्को
समाउँदै आँशु पुछ्दै अर्को हात आँखाले बस देखिनेजति हल्लाउँदै विदाई गरेको आजै
जस्तो लाग्छ । तिम्रा आँशुहरुलाई थप बग्न दिने छैन भनी आफैसँग बाचा गरेको थिएँ ।
बाटोमा बसको झ्यालबाट देखेजती मन्दिरमा तिम्रो खुसी मागेको थिएँ । भगवान पनि बहिरो
भयो । हामी दुःखीलाई कहिल्यै खुसी
भएको देखी सहेन ।
गल्ति म बाट भएकै
हो । साथीहरुको लहलहैमा लागेर म लागू औषधको कूलतमा फसेको हो । तर मैले बेचबिखन
गर्ने गरेको हैन । आमा मैले तिम्रो सपना साकार गर्न सकिन । मैले समाजको अगाडि
तिम्रो नाक काटिदिएँ । इन्जिनियर बनेर फर्किन्छु भनेर तिमीसामु गरेको बाचा खेर गयो
। आमा अब म तिमीलाई कहिल्यै सताउने छैन । बहिनीलाई राम्रोसँग पढाउनु । बहिनीलाई
मेरो उदाहरण दिएर सम्झाउँथ्यौ, आमा अब बहिनीलाई दाईजस्तो बन्न नभन्नू । छोराले
तिम्रा सपना पूरा गर्न सकेन । समाजको अगाडि तिम्रो सिर सदैव झुक्ने काम गर्यो ।
वहिनी आमाले भनेको मान्नू । सायद तेरो हातबाट अब फेरी भाईटिका लगाउन पाउँदिन होला
। आमाको राम्रोसँग ख्याल गर्नू । मैले आफूले आफैलाई माफ गर्न सकिन आमा, सक्छौ भने
यो नालायक सन्तानलाई तिमी माफ गरिदेउ है आमा ।
Post a Comment