विहानका भाँडा माझेर मैले घरको पेटीमा सुकाउँदै गर्दा सासुआमाले घाँटीको तिलहरीको सप्को मिलाउँदै हप्काउनुहुन्छ, - "जेठीले भाँडा माझी भने कस्तो टिलिक्क पर्ने गरी माझ्छे यस्ले त माझेका भाँडा पनि जुठै हुन्छन ।" आज हरितालिका तीजको दिन विहान नन्दले र वुवाले खाना खानु भयो । सासुआमा र मैले ब्रत बस्यौँ । खाना खाएनौँ । जेठानी दिदी तीजको लागि भनेर माईती जानु भएको छ ।

 

     उहाँले मलाई भगाएर विवाह गर्नु भएको हो । उहाँ र म बीच करिव तीन महिना पहिला विवाह भएको हो । विवाह भएको दुई महिना पछि उहाँ धन कमाउन भनेर साउदी जानुभएको छ । बहिनीले भनेकी । मैले नन्दलाई बहिनी भन्छु । हामी दुई खुव मिल्छौँ । जेठानी दिदीको विहे गर्दा खुव धरै दाईजो दिएका रे । गाउँमै त्यति धेरै दाईजो अहिलेसम्म कसैले ल्याएका छैनन् रे । सासु आमाले लगाएको तीन तोलाको तिलहरी पनि दाईजोमा आएको रे । जेठानी दिदीको श्रीमान धन कमाउन कोरिया जानु भएको छ । घरमा अहिले सासु, ससुरा, जेठानी दिदी, बहिनी र म मात्र बस्छौँ ।

 

     मैले ब्याचलर दोस्रो वर्ष पढ्दै थिएँ । उहाँ फाइनान्समा काम गर्नुहुन्थ्यो । हाम्रो पहिलो भेट त कहाँ भएको थियो मलाई याद छैन, तर मलाई उहाँसँग प्रेम त्यहि पहिलो भेटमै भएको थियो । उहाँले मलाई काठमाडौँ बाट भगाएर यहाँ गाउँ ल्याउनु भएको हो । भागेर क्षेत्रीसँग विवाह गरेको भनेर ड्याडि हालसम्म पनि मसँग बोल्नु भएको छैन । हामी उपाध्याय हौँ । म थिएँ । भाईले भनेको " उस्को कुरा ननिकाल, त्यो मेरो लागि मरीसकी" भन्नुहुन्छ रे ड्याडि। मम्मीले कहिले काहिँ ड्याडिले थाहा नपाउने गरी फोन गर्नुहुन्छ । मम्मी हरेक चोटी फोन गर्दा रुनुहुन्छ । म उहाँहरुको एकमात्रै छोरी हुँ । थिएँ ।

     आज गाउँका सवै दिदी बहिनीहरु तीजको रमाईलो हेर्न चौपारी जानु भएको छ । म गईन । मसँग तीजमा लगाउन सारी छैन । गहना छैनन् । मलाई सासुआमाले घर कुरेर बस्न लगाउनु भएको छ । मलाई दाईको बिहेमा दाईजोमा आएको सारी लगाउनु दिदी जाउँ न सँगै भनेर बैनीले कती कर गरी तर अहँ म गईन । मलाई जान मन लागेन । सीधै त भन्नु हुन्न । तर हरेक प्रसङ्गमा जोड्न खोज्नुहुन्छ । मलाई थाहा छ मैले दाईजो नल्याएकोमा सासुआमा र जेठानी दिदी खुसी हुनुहुन्न । ससुरावुवा सासुआमा नबोल्दासम्म बोल्नुहुन्छ । उहाँ बोल्न थालेपछि चुप बस्नुहुन्छ ।

 

     आज मलाई माईतीको साह्रै याद आयो । यो मेरो विवाह पछिको पहिलो तीज थियो । सबै दिदी बहिनीहरु माईती गए । म चाहेर पनि जान सक्दिन । ओछ्यानमा पल्टिएर टोलाइरहेँ । मम्मीले फोन गर्नुहुन्छ कि भनेर एकोहोरो मोवाइल तीर हेरिरहेँ । अरुलाई चाडपर्व आउँदा खुसी मिल्छ मलाई भने चाडवाड आउँदा सधैँ माईतीको यादले पिरोल्छ । एकैछिनमा मोवाइलको घण्टी बज्यो । मम्मीको फोन आएको रहेछ । भिजेका आँखा पुछ्दै फोन उठाएँ- "हेल्लो।"  मम्मी- "हेल्लो छोरी सन्चै छौ ?  ड्याडी बोल्ने रे तँ सँग लौ कुरा गर ।" म एक्कासी भक्कानिएँ । सुँक्कसुँक्क गर्दै सुनीरहेँ । आफूलाई सम्हाल्नै सकिन । उता बाट ड्याडिले- "हेल्लो... हेल्लो.... छोरी" भन्दै हुनुहुन्थ्यो । म केहि बोल्नै सकिन । म एकोहोरो रोहिरहेँ ।

6 Comments

  1. Replies
    1. धन्यवाद । यस ब्लगमा प्रकाशित अन्य कथाहरु पनि पढिदिनु होला ।।

      Delete
  2. Replies
    1. हस् धन्यवाद! म आफैले लेख्या हो ।

      Delete

Post a Comment

Previous Post Next Post