प्रेम नभएको पनि होइन । प्रेम त पटक पटक भयो । तर मेरो प्रेम डरहरुबाट सधैँ घेरिइरह्यो । प्रेम प्रेमिकासम्म पुग्न पाएन । दोहोरो प्रेम हुन सकेन । कहिले प्रेम म भन्दा धेरै अगाडि पुग्यो त कहिले म प्रेम भन्दा अगाडि हुन पुगेँ । तर हाम्रो जम्काभेट कहिल्यै हुन सकेन ।

जब म स्कुल पढ्थेँ । कोहि मन पर्थ्यो । तर कहिल्यै भनीन । मेरो पढाई राम्रो छैन । त्यसैले उस्ले मलाई स्वीकार्दिन होला भन्ने डरले त्यो प्रेमलाई खायो । मैले बिर्सिएँ उस्को पनि पढाई खासै राम्रो थिएन ।

 

कलेज पढ्दा, सबैको एउटै सुझाव हुन्थ्यो । बा-"पढाइमा ध्यान दे ।" आमा- "पढाइमा ध्यान दे ।" दाई- "पढाइमा ध्यान दे ।" मामा-माइजु "पढाइमा ध्यान दे ।" पढाइ सप्रिय होला, तर प्रेम सप्रिएन ।  न त प्रेम फुल्न पायो न त फल्ननै । प्रेम जति पटक टुसायथ्यो, तेतिनै पटक मैले मुना निमोटेथेँ ।

 

जब क्याम्पस सुरु भयो । मनमा सधैँ एउटै कुरा खेल्थ्यो । मेरो पनि बाइक भएको भए, गल्फ्रेन हुने थियो । लाग्थ्यो बाइक गल्फ्रेन हुनुको पूर्वशर्त हो । क्याम्पस लाइफमा प्रेम धेरैसँग धेरै चोटी भयो होला, तर प्रेमीकाले आफ्नो प्रेमी चिन्ने गरी कहिल्यै भएन ।

 

मास्टर्सको पढाइ सकियो । त्यो बेला अनौठो थियो । अब मसँग जागिर थियो । बाइकपनि थियो । मलाई लाग्ने गरेका प्रेम हुनाका लागि चाहिने पूर्वशर्तहरु सबै  थिए । मलाई पढाइमा ध्यान दे भन्नेहरु नै भन्न थालेका थिए । "गल्फ्रेन छैन ? बेला भएन र ? अब बिहे गर्ने हैनर ?"

 

यो समय मेरो लागि अचम्मको थियो । जब माझीको डुँगा तयार भएथ्यो, खोला सुकिसकेको थियो । काममा निक्कै व्यस्त हुनुपर्थ्यो । महिनौँ बित्थे कोहि अविवाहित स्त्रीको अनुहार देख्न नपाई । यस्तोमा लभ पर्ने सम्भावना बुध ग्रहमा बरफ भेट्टिनु जत्तिकै थियो । अब स्कुल, कलेज पढ्ने बेलाका केटी साथीहरु एकाएक रङ्गि सकेका थिए । कोहि सिन्दुरमा त कोहि चुरापोतेमा । मैले युनिभर्सीटीको डिग्री लिँदासम्म कसै-कसैले पारिवारिक डिग्रीपनि हासील गरिसकेका थिए ।

 

नियाल्छु विगतलाई, म समय भन्दा एक-दुई कदम ढिला भएँ या प्रेम लाई पटाडी छोडेर म अगाडि बढेँ । विहे अघि त प्रेम भएन । विहेपछि पनि प्रेम हुने-नहुने कुनै ग्यारेण्टि थिएन । मलाई ढिला नहुँदै जान्नु थियो । प्रेम हुन आखिर के चाहिँदो हो ?

 

मलाई लाग्ने गरेका प्रेम गर्न चाहिने पूर्वशर्तहरु थिए । तर पनि प्रेमिका थिइन । प्रेम भएको थिएन । हाल चारैतिर बाट विहे गर्न प्रेसर आउँछ ।  त्यो बेला प्रेम गर्न मसँग जे कुराको अभाव थियो । अहिले मसँग विहे गर्न ठीक त्यहि कुराको खाँचो परेको छ । हिम्मत ।।

2 Comments

  1. मनमै लाग्यो नि !
    गज्जब ब्रो ! ❣️❣️🙏

    ReplyDelete

Post a Comment

Previous Post Next Post